Sunday, April 12, 2015

जाजरकोटको एकोहोरो शंख, रूवाबासी र चिच्चाहटमा ध्यान जाओस् यही नयाँ वर्ष ०७२को शुभकामना!!

विज्ञापनको दुनियाँ छ। हजारौं तिरेर नयाँ वर्षको शुभकामना छापिन्छ अखबारमा तर जाजरकोटको महामारीमा औषधी उपचार्थ सहयोग गरे कसले विज्ञापन गरिदियोस् अखबारमा। सरकार करौडौंको लगानीमा नामको अस्पताल ठडाउन तम्सन्छ तर जाजरकोट, कालिकोट र अन्य विकट कर्णालीमा सेवा गर्ने डाक्टर र स्वास्थ्यकर्मीलाई विशेष सुविधा दिन हिच्किचाउँछ अनि टिप्पणी गर्छ, स्वास्थ्यकर्मीलाई जति सुविधा दिए नि पुग्दैन भन्दै व्यंग पनि। तर पाँच तारे होटलमा स्वास्थ्य सेवामा सुधार सम्बन्धी अन्तरक्रिया गरेर पानसमा बत्ती बाल्नेहरूको तछाडमछाड देखिन्छ। यता काठमाडौंको मध्य भाग महारागंजमा चुपचाप अनशन बसेका डा.केसीको आन्दोलनले सामाजिक संजाल र सरकारमा कोलाहाल मच्चिन्छ, मेडिकल माफियाको हंगामा देखिन्छ तर जाजरकोटमा घण्टै पिच्छे बजेको एकोहोरो शंख कस्ले सुन्ने? सरसफाईका कुरा र सानो जनचेतनाबाट रोकथाम हुने रोगहरू रोक्ने हैसियत नराख्ने सरकार, स्वास्थ्य कर्मी र ठुला- मेडिकल कलेज खोल्न तम्सिएकाहरूले आफ्नो फलानो कार्यले स्वास्थ्य सेवामा ठुलो टेवा पुग्ने भन्दै तारे धारी होटलबाट मिडिया विज्ञापन हुने गरी ध्वास नदिएकै राम्रै। धिक्कार छ भौगोलिक विकटता भन्दै पन्छिने संस्कार र यो विभेद काठमाडौं र विकट जिल्लाबीचको। राहत भन्दै खोस्टे कार्यक्रम ल्याउनु अगाडि छोटो छरितो वस्तुगत अध्ययन सहित सानै प्रयासबाट सम्भव हुने कार्यक्रमको थालनी गर्ने कि? यस्ता साना प्रयासका विज्ञापन हुन्न भन्ने पीर हो कि नचाहेका हुन् बुझ्न सकिएन, हैन भने किन कम चर्चा, किन मौन यस सम्बन्धमा? छिटपुट देखिएका छन् तर आशा गरेजति पहल देखिएन। सरकारको ध्यान जाओस् यस्मा चाँडै यही नयाँ वर्ष २०७२ को शुभकामना र आम नेपालीको चाहना। जय होस्!


No comments:

Post a Comment