Tuesday, December 28, 2021

कानून उत्कृष्ट, कार्यान्वयन फितलो!!

 केही वर्ष अघि एउटा स्वास्थ्य सम्बन्धित ऐन पारित भयो। मृगौला फेल भई कुनै पनि ढंगले मृगौला नमिलेका मृगौला पिडितकालागि आफ्नो जिन्दगी प्रतिपादक रूपमा जिउँने समय सकियो ठानेका बिरामीका लागि यो ऐन पुनर्जिवन फेरी मिल्ने झिनो आशाको दियोको रूपमा आयो। धेरैले ठुलै आशा गरिएको यस ऐन थियो पुर्णरूपले विशषज्ञ डाक्टरबाट प्रमाणित गरी मस्तिष्क मृत्यु घोषित भएका बिरामीबाट मृगौला लगायत अन्य अंग, परिवारका सदस्यका सहमतिमा वा बिरामी स्वंमले अगाडि नै दिएको मन्जुरीनामाको आधारमा गरिने अंगदान। 

 मृगौला पिडितका लागि यो निकै नै आशाको छिनो डोरी थियो। ऐन निकै नै प्रंशसायोग्य हुंदाहुंदै पनि कार्यवन्यन पक्षमा फितलो देखियो। हालसम्म एउटामात्र नमुनाका रूपमा मस्तिष्क मृत्य भएकाबाट अंगदान  भएर दुई मृगौला फेलभएका बिरामीले पुनर्जिवन पाए। यसैपनि ऐन मात्र नेपालका शशक्त बनेका हुन्छन् तर कार्यान्वयन पक्ष फितला भन्ने आरोपबाट यस स्वास्थ्य सम्बन्धित ऐन पनि अक्षुतो रहेन।
नेपालको सम्दर्भमा भन्नु पर्दा मस्तिष्क मृत्युको कारक तत्व सडक दुर्घटना रहेको पाइन्छ। झन्डै दिनकै ४-५ वटा यस्ता बिरामी अस्पतालमा भेटिन्छ।पटक पटक मस्तिष्क मृत्यु भएकाबाट अंगदान मिल्दै छ भनिएता पनि पछि सामाजिक, पारिवारिक, आर्थिक, धार्मिक, अस्पतालका सेवा सुविदा, जनशक्ति, जन चेत्तनाको कमि लगायत विविध कारणले गर्दा उक्त अंगदानहरू सम्भव हुँदैनन्। यस्ता खालका ऐनको प्रभावकारिताका लागि हाम्रा स्वास्थ्य संरचना, व्यवस्थापन , जनशक्ति चुस्त र दुरूष्त साथसाथै काम कारवाही अघि बढ्न आवश्य रहन्छ। 
एउटै च्यानलबाट मात्र जाने यस ऐन बनाउँदा परिकल्पना गरिएको व्यवस्था आफै पनि यस ऐन प्रभावकारिताको बाधक बनेको हो कि भन्ने पनि शंका गर्ने ठाँउ छ। मानविय भावनासंग जोडिएको यो विषय त्यति सरल छैन, कसैको अंग लिने सानो कुरा हैन। कतिपय अस्पताल जहाँ अंग प्रत्यारोपण सम्भव छ, तिनीहरूपनि उही एउटै च्यानलबाट जानु पर्ने बाध्यत्मक परिस्थितिको सामना गर्न तयार नरहेको व्यवहारमा देखियो। कि यस च्यानलको हाँगा बिँगा बिस्तार हुनु पर्यो या छुट्टा छुट्टा च्यानल तर सरकारी निगरानीमा नियम संगत ढंगले चलाउन सक्नु पर्यो नत्र ऐन जति नै उत्कृष्ट बनेपनि कुनै अर्थ रहँदैन केवल अक्षरका रूपमा कागजी डंगुरको रूपमा थुप्रन्छन्।
उपत्यका बाहिर यो ऐनमा भनिएझै अझै लाभ उठाउन निकै मेहिनत गर्नु पर्ने देखिन्छ। नेपाल यस्तो देश हो जहाँ हरेकमा न्यूनतम स्रोतमा अत्याधिक प्रभावकारिता खोज्नु पर्ने वाध्यत्मक परिस्थिति रहेको छ। 
माथि उल्लेखित विषय खासै नौलो होइन र सबैले बुझेकै कुरा हुन् तर आज यो पंक्तिकार सुझावका रूपमा केही विचारहरू प्रस्तुत गर्दैछु।
मस्तिष्क मृत्यबाट गर्न सकिने अंगदान यही स्रोत र साधनबाट अत्याधिक प्रभावकारितामा जड समस्याका रूपमा  गौण रहेका मुख्य समस्या भनेको पारिवारिक, सामाजिक र धार्मिक वाधा अड्चन नै हुन्। निश्चय पनि मस्तिष्क मृत्यु भएको कसैको पनि अंगदान लिनका लागि उसको परिवारलाई सम्झाई बुझाई गर्नु  निकै अप्ठ्यारो स्थितिको सामना गर्नु हो। फेरी मस्तिष्क मृत्यु हुने बिरामी अल्पकालमा ज्यान गुमाएका हुन्छन्। यो अवस्थामा बिरामी परिवार वा नजिकका सदस्यलाई संवेदनशिलता पुर्वक सम्झाई बुझाई गर्न नसकिए बिरामी-डाक्टरको सम्बन्धमा समस्या उत्पन्न हुन सक्छ। बिरामी पक्षबाट फेरी पनि भावनाको शिकारमा दोषारोपण गर्न सक्छन् र यो ऐनको मर्मको तजोबध हुनसक्ने धेरै सम्भावना देखिन्छ।
केही समय अघि मस्तिष्क मृत्यु भएर अंगदान गर्न चाहने पिडित परिवारलाई केही आर्थिक सहयोग स्वरूप प्रदान गर्ने कि भन्ने कुरा पनि जति प्रभावकारी बन्ला जस्तो सोचिएता पनि कुनै समय खत्तरनाक परिणाम निम्ताउन सक्छ। विडम्वना भन्नु पर्छ हामी कहाँ नकारात्मक सोच, समाचार र उद्देश्य चाँडै चल्छन्, बिक्छन्। 
आर्थिक सहयोग गर्ने भन्ने कुरा हाम्रो स्रोत-साधन हेरिकन अन्तिम उपायका रूपमा आउनु पर्ने तर विडम्वना यो सोच अगाडि आँउछ। एउटा परिवारलाई दिइने आर्थिक सहयोगको रकममात्र सदुपयोग गरी यदि हरेक अस्पतालमा आकर्षक नारा सहितका अंगदान सम्बन्धित जनचत्तेना जगाउने सन्देश भएका  होर्डिंग हरेक अस्पतालमा टाँगिए कति प्रभावकारी हुने थियो।
-डा. संजय गेलाल
अंगदान करकापमा हुन सक्दैन, अझै  अल्पकालमै मस्तिष्क मृत्यु भई अस्पतालको बेडमा रहेका बिरामीका परिवारका सदस्यलाई सम्झाई बुझाई अंग लिनु फलामको चुरा चपाए झैं हो।
दान भनेकै आफु राजी भएर दिनु हो। राजी भएर दिइने कुरामा आर्थिक विषय जोडिए, कुरा पनि मोडिन सक्छ। हित सम्झी बुनेको माला गलपासो बन्नसक्ने सम्भावता नकार्न सकिन्न। सुरूवातीमै आर्थिक कुराले झन् नकरात्मक असर पर्नसक्छ विशेषगरी डाक्टर-बिरामी  र बिरामीका नजिकको सम्बन्धमा। 
तसर्थ पहिले अंगदान लिनका लागि हरेक अस्पताल विशेषगरी अप्रेसन, भेन्टिलेटर साधनस्रोत र मानवस्रोतले पूर्ण रहेको अस्पतालका भित्तामा सुचना मुलक होर्डिंग बोर्ड झुन्डाउन आवश्यक देख्छ यो पंक्तिकार। सम्भव भए सडकका छेउछाउमा हुने होर्डिंग बोर्डमा पनि यस सम्बन्धित आकर्षक नारा सहित सुचना संप्रेशण गर्ने माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ। अंगदान भनेको कुरा सबैलाई मानसिक रूपमा सबैलाई परिआएको खण्डमा तयार हुने मानसिकता विकास गर्न सके मात्र सम्भव छ अन्यथा उत्कृष्ट ऐन तर कार्यान्वयन फितलोको रूपमा सिमित रहन्छ।

-डा. संजय गेलाल