Thursday, November 19, 2015

यो देशमा सरकार छ?

चिनियाँ पक्ष:- चाहे जति इन्धन दिन तयार छौ।
आयल निगम:- चिनबाट अनुदानको तेल बाहेक हालको अवस्थामा आयात गर्न असम्भव।
साधरण नेपाली:- कालो बजारी मार्फत पाइने सस्तो इन्धन र ग्यास खोज्दै छन्। फरक फरक दरभाउमा।

आखिर यो देशमा सरकार त छ?

भारतिय हेपाहा प्रवृति विरूद्ध जनताले सरकारलाई समर्थन गरे, यस्तो संकटबीच पनि विरोध नगरी चुप छन् तर विडम्वना  फेरी पनि केही भारतिय दलाल कर्मचारी, आयल निगम, ढुवानी व्यवसायी, डिलर्स व्यवसायी लगाएतमा आवद्ध सोही संगठन भित्रका केही भारतिय दलालले समस्या समाधान तर्फ नभई कालोबजारीलाई प्रोत्साहन दिँदा पनि नदेख्ने आखिर यो सरकार के हेर्दै छ? सरकारको उपस्थिति कहाँ छ?

मधेषीसंग वार्ता दिनदिनै निर्णायक भन्ने, भम्र छर्ने? अनि हरेक बेलुकी शुभ समाचार र ठुलै आशा बोकेर बसेका जनतालाई बेसहरा अनुभव गराउने गरी वार्ता निष्कर्ष विहिन भन्ने सुन्नु पर्दा जनताको सरकारप्रति दिनदिनै बढ्दै जाने वितृष्णाको हेक्का ओली सरकारले राखोस्। यदि विधिको शासन मान्ने हो पनि विधिबाटै चल्नु पर्यो। सरकारले स्पष्ट पार्नु पर्यो आखिर तराईका जनता के चहान्छन् र मधेषी जनताको नाइके ठान्ने केही नेताहरू के चाहन्छन्? तराईका जनताको जायज माग र केही जमिन्दार शोषक ठालु नेताको माग कति को एकरूपता छ? फरक मत कति छ? सरकारले यो अमानविय ढंगबाट छिमेकी राष्ट्रको तर्फबाट भएको नाकाबन्दी बारे स्पष्टता ल्याउन जरूरी छ। लोकतन्त्र र प्रजातन्त्रमा विश्वास राख्ने, बहुदलिय प्रतिस्पर्दा स्वीकार्ने आम नेपाली जनताबीच संविधानसभा चुनावी नतिजा अनुरूप ११% प्रतिनिधित्व गर्ने दलले  ८९ % समर्थनमा बनेको संविधान माथिको मतभेद राखी यो ढंगको आन्दोलन चर्काएर विदेशी सहयोगमा नाकाबन्धीलाई जायज तुल्याउनुलाई शान्तिपुर्ण स्वीकारन कदापि सकिन्न। यो त सरासर ज्यादती हो। 
ठुला विश्लेषकका अनुसार छिमेकी राष्ट्र भारतका दिर्घकालिन भव्य जल विधुत्त योजना पुरा गराउने गोटी बन्दैछ मधेष तर विडम्वना सोही योजना अनुरूप संघियता नबन्दा सबै तराईका जनताबीच संविधान तराईवासीको हितमा नभएको भ्रम छरिएको छ। राज्य शासन विधिबाट चल्छ कानूनी आधारमा टेकेर। सहमतिमा नआउने, वार्तामा अनेक बहाना बनाउने अनि विशुद्ध व्यक्तिगत फाइदाका निम्ती  बेतुकका आन्दोलन चर्काउने, संविधानसभा चुनावमा  भोट बाहेक अन्य केही पहुँच नभएका सरोकार नराख्ने अधिकांश तराई-पहाड-हिमालका सोझासिधा जनताको जीवन नै अस्तव्यस्त पार्ने? केही समुहले विशुद्ध आफ्ना अनुकुल मुद्धलाई आफ्ना अधिकार प्राप्तिको लडाई भन्दै विदेशीको इशारामा बाँकी सबै सोझासिधा नेपालीको बाँच्न पाउने अधिकार नै कुण्ठित पार्न कुन नैतिकताले दियो? यो निकम्मा शैलीको नाकाबन्दीलाई  सहयोग र समर्थन पुराउने बाटो तत्कालै तुरून्तै त्यागेर ठोस वार्तामा बस्नुको विकल्प छैन। वार्ता नि गरे जस्तो गर्ने र आन्दोलन नि चर्काउने धम्की! यस्ता नीति कदापि स्वीकार्य हुन्न। कि वार्तामा बस्ने  हैन भने प्रकियाबाट आउने, दुई तिहाई पुर्याउने अनि संसोधन गर्ने। आखिर संविधान कुनै धर्म ग्रन्थ झै अपरिवर्तनिय पनि त छैन।  हैन भने के को नाटक? कुन चाँहीको पार्टीका घोषणापत्र अनुरूप संविधान हुबहु बनेको छ र? अतिवाद चल्दैन, असह्य हुदैछ, धर्य धारणको सिमा नाघ्दै छ ! तराईबाट मधेष बनाइयो, नेपालीले स्वीकारे तर फेरी अब भारतको प्रान्त बनाउने खेल खेलिन्छ भने होसियार यो नाटक चल्दैन अब र स्वाभीमानी र स्वतन्त्र नेपाली जनताले छाड्दैनन् ती गुलाम र दलाललाई। 
निश्चय पनि संविधान अक्षरंश अध्ययन गरिए परिवर्तनकामी, प्रगतिशील, न्यायमुखी, विभेदमुक्त संविधान बनेको छ। यस तथ्य देश भित्रका र विदेशका ठुला प्राज्ञिक व्यक्तित्वबाट पनि सुनिएकै हो। हाल आन्दोलनरत क्षेत्रलाई विभेद गर्ने कुनै धारा, दफा भेटिन्न र यस संविधान तराईका जनताको हक अधिकारको सुनिश्चिता गर्दै जीवन शैली उकास्ने शंका गर्ने आधार देखिन्न। मधेषी ठालु नाइके र जमिन्दारबाट अग्सर ठगिने र दबिने  दलित-जनजाति साथसाथै महिलाका पनि हक-अधिकार सुनिश्चित गर्ने  र सबै पक्षलाई न्याय गर्ने संविधान आएको छ। सबैभन्दा राम्रो पक्ष यो संविधान समय अनुसार कही कतै त्रुटि ठहरिए संसोधन गराउन सक्ने प्रावधान पनि समेटिएको छ। तय वर्तमान अवस्था हेर्दा आन्दोलन उचाल्न लागेका र दमन गर्ने ध्यये बोकेका एकाथरी  केही ठालु नेता विशुद्ध आत्म केन्द्रित चिन्तनबाट ग्रसित छन्। भविष्यमा बन्ने संघिय ढाँचाका प्रेदशमा रोजिएको स्थान नपाइने भयले ग्रसित छन्। विशेषगरी आन्दोलनरत पक्षधरकार केही ठेकेदार प्रतिस्पर्दाको राजनीतिमा टिक्न  नसकिने पीरले सिंगो मुलुकलाई नि आघात पुराउने योजनालाई सहयोग पुराउँदै छन्। विदेशीको इशारा अनुसारका योजनालाई बचाउ गर्दै तर विडम्वना विशेष गरी त्यस्ता योजना साथ दिने मध्ये आफ्नै चुनाव मैदानमा बहुमत जनताको साथ नपाएका हरूवा सभासदहरूको वर्चश्व बढी नै देखिन्छ। सबैले ख्याल गर्नु पर्ने कुरा के छ भने करिब ६०-७० वर्ष अथक प्रयास पश्चात देशले संविधान पायो, सबैको समर्थन र स्वीकार्य संविधान बन्नु पर्थ्यो तर सो कुरा भनेजस्तो सजिलो पक्कै थिएन यद्दपि अधिकतम जननिर्वाचितको सभाको झण्डै ८९% सभासदको जुटाउन नेपालको संविधान सफल रह्यो। अन्यको सबालमा तितो सत्य - गहुँ पिसेर पिठो बनाउँदा दुई-चार घुन नि पिसिन्छ।

संविधान आए पश्चात देशले नयाँ सरकार पनि पायो। पहिलोपटक महिला राष्ट्रपति र कुनै समय युद्धमा होमिएर पछिल्लो समय प्रजातान्त्रीक बहुदलिय प्रतिस्पर्दा स्वीकारेको पार्टीको तर्फबाट महिला सभामुख पनि। यी घटनाक्रमले आफ्नै एतिहासिक महत्व बोकेका छन्। नयाँ सरकारको नेतृत्व केपी ओलीको काँधमा आयो। तर सरकार चलाएको यतिका दिनमा सम्म पनि जनताको गला दबाउने नाकाबन्दी र मधेष आन्दोलनले निकास नपाउनुको अपजस ओली सरकाले लिनैपर्छ। अब नि निकास ननिकाल्ने, सधैं भारतको ज्यादती भन्दै पन्छिएर मात्र पाइन्छ? देशको समस्या समाधानका खातिर नै सरकार चाहिने हो नत्र जन निवार्चत सरकार बन्नुको के अर्थ? 
यो देश नेपाल २००७ साल पछि  जब निरंकुश व्यवस्थाबाट दलका तर्फबाट शासन सत्ताको बागडोर समालिएपछि  देश अझै कमजोर भएको देखिन्छ विश्व जगतमा। छिमेकी राष्ट्रको चलखेलपनि सोही समय पछि नै तीव्र देखिन्छ। फान्सेली क्रान्ती पश्चात निरंकुस नेपोलियनको उदय भएझै यसैगरी दलको किचलोका कारण सम्रग देशका जनता पीडित बन्ने हो भने दलहरू भन्दा फेरी पनि अधिनायकवाद र निरंकुसतन्त्र ठीक भन्ने दिन नआउला भन्न सकिन्न। 

६ महिना अघिको भुकम्पले थलिएको देश यो छिमेकी राष्ट्रको नाकाबन्दी थप अघात बन्न पुगेको छ। तसर्थ तुरून्तै जनताका घरमा चुलो बल्ने वातावरण बनाउ हैन भने जनताले बुझ्ने छन् यो जन आंकाक्षा अनुरूप काम गर्न सक्ने सरकार होइन हुतिहाराको जमात हो।
जय होस्।
भद्रगोल हटोस्।

-डा. संजय गेलाल (इन्टर्न, केएमसि)
चाँगु-५, भक्तपुर


Saturday, October 3, 2015

नाकाबन्दी त खुल्यो, के अब विकल्पका ढोका बन्द?

नाकाबन्दी खुकुलो हुने भएपछि हाम्रो राष्ट्रियता नि खुकुलो हुनेछ। चीनसंग अगाडि बढ्ने अपेक्षा गरिएका नयाँ व्यापार सम्झौताका जुन भारत कदापि चाँहदैन ती सम्भाव्यताका ढोका फेरी दलहरूबाटै बन्द हुनेछ। फेरी नेपाललाई पेट्रोलियम पदार्थमा आश्रित बनाइने छ पूर्णरूपमा भारतसंग। नेताहरूमा दलाल प्रथा यथावत रहने छ। मधेषवादी सधैं गोटी बन्नेछन्। केही बिकुवा नेपालका नेताले शक्तिमा पुग्ने आशमा सधैं अग्रज भुमिका खेल्ने छ भारतिय हस्तेक्षेपलाई लालमोहर लगाउँदै। आन्दोलन उचाल्ने अनि फेरी मातृपार्टीमा लुरूक्क फर्कने जस्ताको हालीमुहाली सधैं चल्ने छ पार्टीमा र पार्टी सिद्धान्त विरूद्ध र निषेध गरिएका गतिविधी गर्ने नेतालाई निर्लज्ज पार्टी नेतृत्वले धुर्की देखि डराएर कारबाही बिनै चुप बस्नेछ। केही शिर्षर्थ नेतामा आश्चर्यजनक रूपमा एकाएक उम्रेको राष्ट्रवादी सोच र राष्ट्रवादी भजन भजाउन सफल भएकाहरू धेरै टिकाउ हुनेछैन। जनता भारतिय हस्तेक्षेप विरूद्ध जति शसक्त रूपमा उत्रिएपनि नेतृत्व नयाँ विकल्प खोज्दै नखोजी विकल्पहीन छौ भन्दै पन्छिएर झुक्नेछन्। 
सक्छौ भने भारतिय हेपाहा प्रवृतिलाई विकल्पले सबक सिकाउ ताकि भोली फेरी राजनीतिक कुटिल चाल चल्न यस्तै हत्कण्डा अपनाउँदा घाटा नेपाललाई भन्दा भारत स्वंमको परोस्। सजिलो छैन तर सुरू नगरी सुख छैन यदि स्वाभिमान र सार्वभमौन नेपाल चाहने हो भने नेपालका राजनीतिक दलले आत्मनिर्भरताको बाटो पहिल्याउन सक्नु पर्छ र दुवै देशबाट नाका बढाइयोस्, सनतुलित व्यापार सम्बन्ध बढाइयोस्, आत्मकेन्द्रित चिन्तनबाट ग्रसित नेतालाई स्थापित होइन विस्थापित गराउन जनता लाग्नु पर्छ अनि विकल्पको खोजी गरियोस् आउने दिनमा अन्य राष्ट्रबाट पनि विशेषत अर्को छिमेकी चीनको आर्थिक वृद्धि लाभ उठाउँने उद्देश्य सहित नीति ल्याइयोस्। अन्यथा फेरी यस्तै नियति भोग्नु पर्ला। 
जय होस्।
ज्ञान मिलोस्।
मधेष सधैं गोटी नबनोस्।।
-डा.संजय गेलाल (इन्टर्न, केएमसि)
चाँगु-५, भक्तपुर

Thursday, October 1, 2015

आन्दोलनको सम्भावित रूपान्तरण!!

#KPsharmaOli टेन्डिंग चलाइदैं छ भारतमा नेपालका भावी प्रधानमन्त्री भनेर। प्रचण्डको पछिल्लो चाइना भ्रमणको विषयमा नि चर्चा चल्दैछ। सामाजिक सन्जाल देखिने समाचार सबै आफ्नो ढंगबाट बुझ्दैछन् तर यहाँ अबको चलखेलले अर्को मोड लिदैंछ। रमाइलो त के छ भने अब यो जातिवादी-क्षेत्रियताको मुद्धामा अड्किने भन्दा नि प्रजातान्त्रिक र कम्युनिजमको सैदान्तिक लडाईमा ढाँलिने प्रयासरतमा छ भारतिय पक्ष। सबै प्रजातान्त्रिक धार पक्षधर शक्तिलाई एक ठाँउमा उभाउन खोज्दै छ। त्यसले अहिलेको तीन दलिय समिकरणमा फेरबदल अवश्य ल्याउने छ, तीनदलबीचको सहकार्य सम्भवत टिक्न निकै अप्ठ्यारो देखिने छ निकै कसरत गर्नु पर्ने हुन्छ। प्रमको पासा जताततै फाल्दै छ। चाइनासंगको सहकार्य बढाउन सहयोग  पुराउने यो अघोषित नाकाबन्दीले भारतको अघिल्लो समयमा गरिएका राजनीतिक चालबाजी र महेनतबाट अपेक्षित प्रतिफल मिल्ने छाँटकाँट कम आकल्दै फेरी नयाँ चालका साथ यस प्रयोगशालामा अश्त्र फाल्दै छ। अबको विकल्प स्वरूप चर्चामा आइरहेका चीनसंग गरिने तेल, हतियार  व्यापार अघिबढ्न रोक्न भारत कसिएर लाग्नेछ। भारतले यो समिप्यता कदापि स्वीकार्न सक्दैन तसर्थ मधेषका आन्दोलनरत दलहरू केही लचिलोसम्म हुने छाँटकाँट देखिनेछ अबका दिनमा। भारतकै आन्तरिक विरोध संगसंगै अबका  दिनमा हतियार, तेलको व्यापार र अन्य व्यापारमा ठुलै धक्का हुने हो कि यो नाकाबन्दी भन्ने टाउको दुखाई बन्दैछ भारतिय सरकारको। आन्दोलनसंगै भारतिय चलखेलको रूपान्तरण कुन हदसम्म पुग्ने हेर्न बाँकी छ।
जय होस्!

Thursday, September 24, 2015

प्रायोजित आन्दोलन स्वतस्फुर्त भन्दा नि उकासियो। घाइते प्रहरी लखेटी लखेटी मारियो। मार्नै पर्थ्यो किनकि उसले प्रहरी पोसाक संगै सरकारको सिन्दुर लाएको थियो।  सरकार चलाउने नेता, संविधानसभामा चुनिने नेता, मृतक लाभांश ५०लाख घोषणा गर्ने नेता, आन्दोलन चर्काउने नेता, घुसपैठ गराउने नेता, बैठक गर्ने नेता, माग सुनवाई गर्ने नि नेता, दमन गर्न लगाउने नि नेता तर विडम्वना आजसम्म कुन चाँही नेता विरूद्ध भाला उठायौ? माग पुरा नगरिदिने कुन चाँही पहाडी नेता कब्जामा लियौ? तिमीहरूको ताण्डव परिवार पाल्न लठ्ठी लिइ सडकमा ओर्लिएको प्रहरी माथि किन? आन्दोलन शान्तिपुर्ण लोकतन्त्रमा कहाँ रोकियो? कहाँ दमन गरियो? हिजो राजसंस्था फालिंदा १९ जना मारिए। ढुंगामुढा भए तर सरकारी सिन्दुर लाएर सडकमा कर्तव्य पालना क्रममा लागि ओर्लिएकालाई नै मार्छु भन्दै कोही भाला-तरबार लिएर ओर्लिए झैं लाग्दैन न छिमेकीलाई जोगाईदेउ सडकमा ओर्लिनेलाई भन्दै गुहार्नु पर्यो? सुरक्षाकर्मीबाट १९ मर्दा राजाले राजसंस्था त्यागे जिम्मेवार बहन गर्दै। ४५-५० मारिए संघियताका नाममा एउटा कुनै नेता देखाइदेउ जस्ले जिम्मेवार बहन गर्छ? राजसंस्था  सही भन्न खोजेको होइन तर फरक यही छ शासक र गुलामी गर्ने बीच। शासक जिम्मेवार बन्छ जनता र आफ्ना कार्य प्रति  तर गुलामी गर्नेहरूलाई के थाहा जिम्मेवारी र जन-उत्तरदायित्व भन्ने!
 रंगभेदी भन्ने आरोप लगाए नि लगाउ, यस्तो निच कार्य गर्न उकस्ने र घटना गर्ने-गराउने मधेषी जो कोहीको अनुहार जति कालो छ नि मन नि त्यति नै कालो रैछ। 
तराई आज पनि अन्धकारमै होमिएको छ किनकि आज नि मधेषी भन्न रूचाउनेहरू आन्दोलन मार्फत हिजैकै ठेकदार जमिनदारलाई स्थापित गराउन चाहन्छ। राजेन्द्र महतो, उपेन्द्र यादव, महन्थ ठाकुर मन्त्री हुँदा मधेषी मुद्धा कति माथि उठ्यो कुन्नी? हिजो १ मधेष भन्दै घोषणापत्र बाँडेकै हुन तर जनताले पत्ताएनन् र चित्त बुझाएनन् र पार्टी भन्दा नि क्लबको हैसियतमा पुगे चुनाव संगै। विडम्वना ५-१० बहुलाहरूको उक्साहटले हिंसा उद्देश्य सहित हजारौ उठे तर लाखौंको मौनतालाई दमन गर्दै। सही मुलांकन हुँदो हो वा चाहने हो त जनमतको माग हुन पर्थो न कि विभाजन, स्वायत्ता भन्ने जस्तो छिमेकीको चलखेल मिसिएको नारा। तसर्थ जायज तरिका वैध र सर्वमान्य चुनावका नतिजा यिन्लाई मान्य छैन र जब चुनावी मैदानमा पछाडि परे टिकदम सुरू भयो पुरै विहारी फिल्मी शैलीमा। यिन्लाई बोलाएर वार्ता गरेर मन्त्री पद दिनु जायज माग नि तिलान्जली दिन्छन्। मधेषको हक हित भन्दा नि आफु ठेकदारबाट हटिएला भन्ने पिर हो यिन्को। चेत्तना भया!!
जय मधेश! 
मिलेर खाउ मधेष!!

गुलाम कि बादशाह ... पत्ता पल्टाउन बाँकी छ।

६७ प्रतिशत समर्थनमा आएको संविधान युगान्तकारी भनेर मान्ने भारत, छिमेकी राष्ट्र नेपालको झण्डै ९०% को समर्थनमा आएको संविधान मान्य छैन भन्दा शरम मान्नुपर्ने। हुनत देशी-विदेशी राजनीतिक चलखेल निकै फस्ट्याएको यस राज्यलाई प्रयोगशालाकै रूपमा प्रयोग गरिए विगतका समयमा र राज्यमा कोलाहाल मचाउने प्रपन्च खुब देखिए, सांसद खरिदबिक्रीका खेल धेरै भोगिए सरकार गठनका समय। यो महारोगका मुल जींवाणु आफै निस्तेज देखियो नेपालको संविधान २०७२ को जारी भएपछि र नेपालको प्रतिरोधात्मक शक्ति क्षीण गर्न निकै लागि परेछ। यत्रो कष्ट र परिस्थितिबीच संविधान आउँदा भारत चिढिनुले भारतिय विस्तारवादी नीति सशक्त ढंगबाट लान इन्दिरा गान्धीको अगुवाईमा बनेक 'र'को बर्षौ देखिको अथक मेहिनेतलाई सबै दल विशेषगरी तीन ठुला दलले नराम्रो झट्का त दिए र सिक्किमिकरण उद्देश्यमा तुषरापात भयो। ०७ साल देखि हस्तक्षेपको राजनीतिमा होमिएको भारत छिमिकी राष्ट्र रहेर पनि छेपारोले झैं रंग फेर्छ समय अनुसार आफ्ना नीतिमा। कहिले राजसंस्था काखी च्याप्ने र स्वार्थ पुरा नहुने देखेपछि च्यापेकालाई लात हान्ने र दल समाउने पुरानो रोग। १७ साल र त्यसपछिका घटनाक्रम निगरानी राखिरह्यो, ३६ देखि ४६ सालसम्म आइपुग्दा नि अनेक टिकडम भए। ४७ पछि त सतहमै देखिन थाले,  भारतियमुलकालाई नागरिकता दिलाउन अनुकुल प्रावधान जुटाउन मैदानमै उत्रियो। आफ्ना उद्देश्य प्राप्ती हुने बाटोका बीचमा विरोधका आवाज गुन्जाउने र आफ्ना सिक्किमिकरण अभियानमा खत्तरा देखिने षड्यन्त्रपुर्वक मारिए। स्व. मदन भण्डारीको षड्यन्त्र पूर्वक हत्या पनि यसै अभियानको उपज हो कि समग्र नयाँ ढंगबाट अगाडि बढ्न लागेको  कम्युनिष्ट आन्दोलनमाथि धक्काको नियत भन्ने दुविधा अझै प्रस्ट छैन।  साथसाथै भारतले देख्न नचाहेको भारतबाट नभई अन्य मुलुकबाट हतियार  खरिद र आयातका विषय सो कुरा अगाडि बढाउने नेपालको राजदरबार। पहिले राजा विरेन्द्रका परिवार र पछि नेपालबाट राजसंस्था नै सकिए निकै षड्यन्त्र र चलाखीपूर्वक। अस्थिरताले मुलुक कमजोर गराएर कुनै एक पक्षलाई केही समय बलियो तुल्याई स्वार्थ पुर्ती गराउने खेलमा भारत लाग्यो र जल- विधुतका सम्झौता एकढंगिए हिसाबले हत्याउन लागिपरिरह्यो। राजा ज्ञानेन्द्रे जब अलि तंग्रिएर सार्कमा कुटिल ढंगबाट प्रस्तुत भए भारतले नेपालको राजनीति काबुमा ल्याउन राजसंस्थानै फाल्ने उद्देश्य सहित फेरी दलहरू बटुलेर  समर्थनमा उत्रियो र राजा एक्लिए र फाँलिए। यस्तै चक्रव्यूहमा देश घुमिरह्यो र भारत आफ्ना उद्देश्य प्राप्तीमा कुटिल चाल चल्दै लग्यो। 
तर आज परिस्थिति भिन्न भए। हिजो ठुलो जमात थियो भारतको मिसनमा फाइदा पुराउने दलहरू तर त्यो दल आज खुम्चियो र जहाँबाट भारतले आफ्ना नेपालको राजनीति पंक्तिमा अनेक प्रलोभन, खरिदबिक्रीले आफु अनुकुल बनाएका खेलाडी सिंगो मुलुकका लागि चाहिएको नेपालको संविधान २०७२ निर्माण समयमा अन्त्यसम्म टिक्न सकेन। नेपाल सिंगो खेल मैदान बनाउन सफल भारत नीति अन्तत सिमानाका केही जिल्लामा पुगेको छ र यो खेल बन्द गराएर सिमा पारि नै पुराउन निकै चुनौतिपुर्ण छ। नेपालले दोस्रो पटक फेरी नाकाबन्धी सम्म भोग्न पर्ने घुर्काई सुन्न पर्या छ र खत्तरा देखिन्छ।
जे होस् भारतिय राजनीतिलाई नमिठो झापड लाग्यो। कुनै समय भारतको प्रिय मानिने नेता केपी वली तारो भएका वर्तमान अवस्थामा छन्। भारतिय विस्तारवाद , विदेशी प्रभु विरूद्ध आन्दोलननै छेडेका प्रचण्ड झन् तारो नै छँदै थिए र अहिले फेरी आक्रामक भाषणमा उत्रिएको देखिन्छ। साथै स्थापनाकाल देखिनै निकट रहेको नेपाली कांग्रेसले पनि संविधानका विषयमा भारतलाई चिड्याएकै कुरा त प्रस्ट देखिन्छ विदेशी दुत र विदेश मामिला सम्बन्धमा निस्केका विज्ञप्ताको भाव बुझ्दा।  हेर्न बाँकी छ, भारतले नचहाँदाको नेपालले आफ्नो संविधान उदाहरणियरूपमा झण्डै ९० % प्रतिनिधित्व सहित बनाएको त  देखियो। छिट्टै नयाँ सरकार बन्ने छाँटकाँट देखिन्छ। अब यस समयमा बन्ने सरकार कस्तो होला देख्न बाँकी छ। गुलाम कि बादशाह रैछ..... पत्ता पल्टाउन बाँकी छ।
जय होस्!
शुभ रहोस्! 
समृद्ध बनोस्!
स्वागतम!! 'नेपालको संविधान २०७२' 
जय नेपाल!
- संजय गेलाल 
चाँगु-५, भक्तपुर

Sunday, May 17, 2015

इतिहास र देशले वराखी वार्दा!

इतिहास फर्केर हेर्दा २२ वर्ष अगाडि आजैको दिन एक कालो दिनको रूपमा ठहरियो। समस्या एउटै भोग्दै आयो नेपालले त्यो हो दुरदर्शी नेताको अभाव। स्व. नेता मदन भण्डारी र जीवराज आश्रितको षड्यन्त्र पूर्वक हत्याकाण्डले कम्युनिष्ट आन्दोलनमा अपुर्णीय क्षति पुग्यो र आज पनि नेपालमा एक असल र दुर्दशी नेताको अभाव खट्किएको छ। अस्तिरताको पासोले नेपाली राजनीतिलाई अड्यायो। जेठ ३को नाटकिय हत्याकाण्ठ पछि केही हदसम्म ठडुवा लागेको भारतिय विस्तारवाद र नोकरशाही दलाल पुंजीवादी अमेरिकी साम्रराज्यवादका हाँगामा पालुवा पलाए, देश राजनीतिक गोलघरमा जाकियो जसबाट उम्कन निकै कठिन बन्यो र दरबार हत्या काण्डको अर्को चरण खेल खेले र देश दशक पछाडि धकेलियो। पति मर्दा छोरा र आमाले वराखी मार्छ तर देशभक्त्त र कुशल दुरदर्शी नेता मर्दा इतिहासले वराखी वार्छ र देशै शोकमा पर्ने कथन ०५० जेठ ३ पछिका घटनाक्रमले देखाई सक्यो। हाल अहिले फेरी प्राकृतिक प्रकोप भुकम्पले फेरी देश धकेलिने देखिन्छ। कुशल नेतृत्वको अभाव यो परिवेशमा पनि खट्किएको देखिन्छ। प्राकृतिक विपत्तिले दिएको पिडाले देशले वराखी बार्न बाध्य पार्यो र थाहा छैन अझै कति समय लाग्ने यस समस्याबाट आम नेपालीले मुक्ति पाउन। जेठ ३ ०५० साल, जेठ १९ ०५८ साल र ०७२साल वैशाख १२ निकै फरक किसिमका घटना हुन् तर पिडा सबै नेपालीले भोग्नु पर्यो र नेपालको विकास उन्मुख यात्रामा धक्का पुग्यो र गति सुस्ताउने खालको देखियो। 
तिनै घटनापछि उस्तै खाले वातावरण देखिने संकेत  देखिन्छ यदि राजनीतिकरूपमा केलाइयो भने। मदन भण्डारी हत्याकाण्ड पछि मौलाएको विदेशी चलखेल, ०५८ पछिको राजनीति चलखेल र पहिलो संविधानसभाको विफलतासंग-संगै विदेशी दातृ निकायको भुमिका निकै शंकास्पद देखियो। हाल समयले फेरी नेपाली दाजुभाईलाई विपत्तिको चपेटामा पारेको छ र दुखसाथ भन्नु पर्दा सहयोगी हात बढाएका विदेशी दातृ निकाय सहयोग भन्दा पनि राजनीतिक मिसनको रूपमा आएको भन्ने भ्रम या सत्य भन्ने दुविधा आमनेपालीमा रहेको छ। लाचार सरकारलाई हम्मे-हम्मे परेको छ यो विपत व्यस्थापनमा तर पनि प्रयासरत छ। नेपाल सरकारलाई यो विपत व्यवस्थापन गर्न निकै चुनौतिपुर्ण छ किनकि सो विपत्ति नेपाल सरकारको क्षमता भन्दा निकै भयानक छ तसर्थ अनावश्यक टिका-टिपण्णी र गाली-गलौचको तुक देख्दिन। कठिन छ तर आशा मारिहाल्नु पर्ने देखिन्न। कुनै जमाना विकाशको गति मन्ध गर्ने नेपाली परम्परागत जीविकोपार्जन गर्ने शैलीको खेतिपाति नै यो विपत्तिको बेला वरदान सावित हुने देखिन्छ। तत्काल यदि राज्यले पिडित नेपालीको जीवनलाई विपत्तिपछि सामन्यकरण तिर लान सहयोग हुने खालको कार्यक्रम ल्याएर उपयुक्त वातावरण सिर्जना गरे मात्र पनि नेपाल हाइटी हुनबाट जोगिन्छ। प्रकृतिले यो विपत्ति गराएपनि सहनशीलता गुण नेपालीमा वरदान झैं झल्किन्छ। नेपाल फेरी अघि बढ्ने छ।

जातियताको पासो काटिएको, भुगोलको पर्खालले नेपाली-नेपाली छुटाउने धृणित खेल टुंगिएको देखिन्छ, को पहाडी, को मधेषी सम्रग नेपालीहरू एक जुट भएर लागेका छन्। एक आपसमा हातेमालो गर्दै पहाडको पिडामा तराईले मलम लगाउने प्रयास गरेको छ। यो एकिकृत सोचले नयाँ आशा पनि जगाएको छ। तर यस्तो जागेको आशा दिगो राख्न र नेपाललाई अगाडि बढाउन कुशल नेतृत्व र दुरदर्शी नेता चाहिन्छ। विगतका खिचातानी र राजनीतिक खटपट विर्सेर पार्टी भन्दा माथि उठेर नेपाली हुन जरूरी छ। तसर्थ नेतृत्व गर्ने नेताले ख्याल गर्न जरूरी छ राष्ट्रकै नेता बन्ने अथवा पार्टीको नेता? र सो कुराको निर्धारण यो विपत्तिमा उनीहरूले खेल्न भुमिकाले देखाउने छ र आम नेपाली साँक्षी रहने छन्।
अन्त्यमा भन्नुपर्दा स्व.जननेता मदन भण्डारी र जीवराज आश्रित प्रति हार्दिक श्रद्धान्जली। आफ्नो घरको चुलोमा आफैले आगो नबाले खाना पाक्दैन, त्यसतै दातृ निकायको आश्वासन संगै अरूको आशमा पर्नु गलत ठहर्छ तसर्थ आफू जुट्नु सही ठहर्ला। राज्यको प्रयास अापतकालिन व्यवस्थापन र पछि दिर्घकालिन व्यवस्थापनमा सहजीकरण गराउने हो र यस प्रयास यो विपत्तिको समयमा विवादरहित नहुने सम्भावना एकदमै क्षीण छ। तसर्थ नेतृत्व तहमा बसेका नेताद्वयले भुकम्पका चिराले आजित नेपालीलाई द्वन्द र विरोधको विष पिलाए आत्मघाती हुन्छ र यस्ता विष पिलाउने अर्का सहयोगी दाताको भेष ओडेर आउने विदेशी दातृ निकायबाट जोगाउन अपरिहार्य देखिन्छ अन्यथा यो कालो दिनसंगै इतिहासको पानामा हाल नेतृत्व गर्ने नेताको अनुहारमा कालो मोसो यही विपतको इतिहासले पोत्ने छ। तसर्थ राष्ट्रकै नेता बन्ने कि कुनै दातृ निकायको दुत वा दलकै नेतामा सिमित हुने, रोजाई आफ्नो गतिविधि र भुमिकामा भर पर्छ। जय होस्। शुभ होस्। धर्य-धारण शक्ति मिलोस्।

Sunday, April 12, 2015

जाजरकोटको एकोहोरो शंख, रूवाबासी र चिच्चाहटमा ध्यान जाओस् यही नयाँ वर्ष ०७२को शुभकामना!!

विज्ञापनको दुनियाँ छ। हजारौं तिरेर नयाँ वर्षको शुभकामना छापिन्छ अखबारमा तर जाजरकोटको महामारीमा औषधी उपचार्थ सहयोग गरे कसले विज्ञापन गरिदियोस् अखबारमा। सरकार करौडौंको लगानीमा नामको अस्पताल ठडाउन तम्सन्छ तर जाजरकोट, कालिकोट र अन्य विकट कर्णालीमा सेवा गर्ने डाक्टर र स्वास्थ्यकर्मीलाई विशेष सुविधा दिन हिच्किचाउँछ अनि टिप्पणी गर्छ, स्वास्थ्यकर्मीलाई जति सुविधा दिए नि पुग्दैन भन्दै व्यंग पनि। तर पाँच तारे होटलमा स्वास्थ्य सेवामा सुधार सम्बन्धी अन्तरक्रिया गरेर पानसमा बत्ती बाल्नेहरूको तछाडमछाड देखिन्छ। यता काठमाडौंको मध्य भाग महारागंजमा चुपचाप अनशन बसेका डा.केसीको आन्दोलनले सामाजिक संजाल र सरकारमा कोलाहाल मच्चिन्छ, मेडिकल माफियाको हंगामा देखिन्छ तर जाजरकोटमा घण्टै पिच्छे बजेको एकोहोरो शंख कस्ले सुन्ने? सरसफाईका कुरा र सानो जनचेतनाबाट रोकथाम हुने रोगहरू रोक्ने हैसियत नराख्ने सरकार, स्वास्थ्य कर्मी र ठुला- मेडिकल कलेज खोल्न तम्सिएकाहरूले आफ्नो फलानो कार्यले स्वास्थ्य सेवामा ठुलो टेवा पुग्ने भन्दै तारे धारी होटलबाट मिडिया विज्ञापन हुने गरी ध्वास नदिएकै राम्रै। धिक्कार छ भौगोलिक विकटता भन्दै पन्छिने संस्कार र यो विभेद काठमाडौं र विकट जिल्लाबीचको। राहत भन्दै खोस्टे कार्यक्रम ल्याउनु अगाडि छोटो छरितो वस्तुगत अध्ययन सहित सानै प्रयासबाट सम्भव हुने कार्यक्रमको थालनी गर्ने कि? यस्ता साना प्रयासका विज्ञापन हुन्न भन्ने पीर हो कि नचाहेका हुन् बुझ्न सकिएन, हैन भने किन कम चर्चा, किन मौन यस सम्बन्धमा? छिटपुट देखिएका छन् तर आशा गरेजति पहल देखिएन। सरकारको ध्यान जाओस् यस्मा चाँडै यही नयाँ वर्ष २०७२ को शुभकामना र आम नेपालीको चाहना। जय होस्!


Wednesday, April 8, 2015

संजय गेलालको विचारमा: ए डिजिज कल्ड सिन्डिकेट एण्ड डा.केसी अनशन

संजय गेलालको विचारमा: ए डिजिज कल्ड सिन्डिकेट एण्ड डा.केसी अनशन: उता हामी पोखरा देखी उकालो चढ्दै थियौ, यता डा.गोविन्द केसीको अनशनबाट सुरू आन्दोलनले पनि ठुलै उचाई लिँदै थियो। नेपालको मेडिकल क्षेत्र भित्रका ...

Monday, April 6, 2015

ए डिजिज कल्ड सिन्डिकेट एण्ड डा.केसी अनशन

उता हामी पोखरा देखी उकालो चढ्दै थियौ, यता डा.गोविन्द केसीको अनशनबाट सुरू आन्दोलनले पनि ठुलै उचाई लिँदै थियो। नेपालको मेडिकल क्षेत्र भित्रका धमिरा सकाउने जुन अठोटका साथ डा.केसी अनशन बसे त्यो साह्रै सहरानिय छ। हातमा तरबार लिएर लड्न जानेहरू त्यत्ति समय सम्म सुरक्षित हुन्छन जुन समयसम्म हतियारले चोट लाग्दैन, तर अनसन, बसेको केही समय देखि कमजोर बनाउन थाल्छ, कमजोरीको गोली शरिर भरी लाग्छ, निकै गाह्रो हुन्छ। जीवाणुको तोप सरी अाक्रमणले भेटे ज्याननै जान बेर लाग्दैन। 
झन्डै २ हप्तापछि माग सम्बोधन भए, यो अर्धमृत जस्तो देखिएको सरकार अचेत निद्राबाट ब्युँझियो नचाहेर पनि माग सम्बोधन गर्न बाध्य रह्यो।
पोखरा देखि मुक्तिनाथ यात्रा भरी अनेकौ विचार मनमा खेलिरहे, बाटो भरी डा.केसीको आन्दोलनले कस्तो समर्थन बटुल्दै छ, सोसियल साइट टिव्टर, फेसबुकमा कस्तो प्रतिक्रिया बटुल्दै छ, हेर्दैमा यात्राका अधिकांश समय बिते। 
केही समय अघि एम.वि.वि.एस को अन्तिम वर्षको परिक्षा दिएर हामी सात जना साथीहरू परिक्षा समयको तनावबाट मुक्ति पाउन मुक्तिनाथको यात्रा तय गरेका थियौ। मेडिकल क्षेत्रसंग सम्बन्धित हरेक गतिविधि विशेषत सबै आम नेपालीको ध्यान खिचेका डा.केसीको आन्दोलनले हाम्रो ध्यान नतान्ने कुरै भएन। आन्दोलनले गति लिँदै जाँदा र हाम्रो यात्राको गति अघि बढ्दै जाँदा अनेकौं प्रश्न मनमा उठे, साथीहरूबीच वादविवाद पनि भए। केही विषयमा त चित्त दुखाई विषय रहे। 
बाटोमा यात्रा गर्दै जाँदा खानाका लागि रोकिने स्टेशनहरूमा पाइने खाना खाँदा पुरै यात्रा झन्डै शौचालयमा बिताउनु पर्ने भएको थियो एक साथीको। सरकार स्वास्थ्य सेवामा ठुलै चमत्कार गर्छु भन्दै फलाकिने, अझै केही नेतागण त कुरा काटेको जस्तो, एक समयका कालिदास झैं एकोहोरो छन्, मुर्ख , जो हाँगा टुक्राउन उद्धत छ तर ज्यान जोखिम राख्दै। त्यस्तै हाम्रा नेताद्वयलाई ठुला भवन ठहडाउदैमा स्वास्थ्य सेवा सुधार हुन्छ ठानेका हुन् कि अभाव छ भन्दैमा जहाँ जे चलाए पनि चल्ने भन्दै गैर-जिम्मेवार पुर्ण कदम चालेका। ठुला साइनवोर्ड झुन्डाउँदैमा स्वास्थ्य सेवामा सुधार हुँदो हो त काठमाडौं केही हदसम्म निरोगीको शहर घोषणा गरिदियोस् सरकारले। पुर्वाधार विनै नगरपालिका घोषणा गरेझै सो घोषणापनि सरकारको उपलब्धीमै दर्ज भइजाला। बाटामा खाना र सामानको मुल्य हेर्दा त लाग्छ हरेक सामान र खानामा केही अंश धातु र खनिज मिसिएका छन्, सुनले पोतिएका छन् ती वस्तुहरू। काठमाडौंमा जनताका लागि उधोगी-व्यापारीका हक-हित अधिकारका लागि युद्ध छेड्न पछि नपर्ने भाषण दिने अर्का खालका नाइके लाग्यो ती अनविज्ञ छन् राजमार्गका खाना, सामानका गुणस्तर र मुल्यबारे। तिनीहरू हक-हितका लागि लड्दा-लड्दै राजमार्गका नाईके भई सकेछन्। नापतौल विभाग, गुणस्तर, मिसावट र जनताको स्वास्थ्यसंग सरोकार राख्ने र नियमागमन गर्ने ठुला साइनबोर्ड झुन्डाउने भवन र नामका सरकारी तर प्राभेट कम्पनिमा झैं जिएम नियुक्ति हुने ठुला भवन अगाडिका साइनवोर्ड संरक्षक जानकार छैनन् या काठमाडौं भन्दा बाहिर यिनीहरूको कार्यक्षेत्र पर्दैन, बुझ्न सकिन। 
सायद मेडिकल क्षेत्रलाई पनि त्यही ठुला साइनवोर्ड मात्र झुन्डाउने खेल खुब खेल्न खोजेको देखियो। तर यो कदापि स्वीकार्य छैन। सुन्दा अचम्म लाग्छ मेडिकल क्षेत्रमा कुनै ढंगबाट आबद्धहरू प्राभेट मेडिकल कलेज बन्नु हुन्न भन्छन्। भवन र साइनवोर्ड ठहडाउन उद्धत जमात र प्राभेट कलेज खोलेर आफुलाई स्वास्थ्य सेवाको युगपुरूष हुँ भन्दै विज्ञापन गराउने चाहे नेता हुन् या डाक्टर नै जो मेडिकल क्षेत्रका धमिरा झै हुन्, यस्ता व्यक्ति हुन या संस्था यिन्को एउटै सोच हुन्छ फाइदा। यिन्ले विज्ञापन गरेझैं नयाँ कलेज बन्दैमा स्वास्थ्य सेवामा उलठपुलठ हुँदो हो त आजसम्म नि मातृमृत्यु दर, नवजात शिशुको मृत्यु दर र मानव विकास सुचकले उपलब्धी चमत्कारिरूपमा लिनु पर्ने तर प्रगति सोचेको भन्दा निकै मन्ध छ। चेत्तना भया। छोटो र व्यंग्यात्मक रूपमा भन्दा यो पंक्तिकार मेडिकल माफियालाई कसाईको संज्ञा दिन्छ। कसाईले खशीलाई घाँस खुवाउँछ, कुखुरालाई दाना पानी। त्यो खसी, कुखुराको स्वास्थ्य ठीक होस् भन्दा नि काट्दा माशु गजब होस्, वजन बढोस् भन्ने ध्ययले। मेडिकल माफियाको नि एउटै खेल हो, फाइदाको खेल। स्वास्थ्य सेवाको गुणस्तरसंग यस्ले एक रति पनि सरोकार राख्दैन। नयाँ प्राभेट मेडिकल खोल्दैमा त्यो फेवातालमा डुंगा चलाउनेको क्षमतावान् सन्तानले चाहेर डाक्टर पढ्न पाउने सम्भावना छैन नेपालको सन्दर्भमा कुरा गर्दा। तसर्थ मेडिकल माफियाका मुखपात्र झै बनेको तत्कालिन सरकार र नेतागणले विज्ञापन गरे जस्तो स्वास्थ्य सेवामा परिवर्तन हुन्न कलेज खोल्दैमा। 
जति उकालो चढ्दै गयौ, बाटो उति कठिन, डा.केसीलाई नि त्यतिनै कठिन हुँदो हो जति दिन बित्दै जाँदा। पोखराबाट बेनी पुग्दा सम्म खासै मुश्किल परेन तर त्यहाँबाट माथि निकै कठिन। सवारी साधनमा सिन्डिकेटको महारोग रैछ। शहर केन्द्रित स्वास्थ्य सेवा (विशेषत काठमाडौंमा) स्वास्थ्य क्षेत्रको सिन्डिकेट झैं सवारी-साधनको मनपरी तन्त्र गजब देखियो। सात जना हामीले चौध जनाको पैसा तिर्न पर्ने, जति सिट खाली त्यति सब अन्य बसमा भएकाले तिर्न पर्ने, त्यो पनि जोमसोम सम्म नपुग्ने, आधी बाटोमा ओराल्ने, घाँसाबाट अर्को बस फेर्न पर्ने। सिधै जोमसोम पोखरा चल्ने बसमा बारम्बार घरैपिछे खुलेका समितिले दिक्क बनाउने रैछ र बाधा पुर्याउने रैछ बस संचालनमा। तब लाग्यो यातायात कार्यालय, यातायात व्यवस्थापन सम्बन्धी कार्यालय, प्रशासन, प्रहरी पनि साइनबोर्ड झुन्डाएर मात्र बसेछन्। साइनवोर्डको टाउकोमा कहि कतै जनताको सेवार्थ भन्ने भाव भेटिए खित्का छोडेर हाँसो लाग्थ्यो। हामी केही दिनका यात्रु त वाक्क बन्यौ एकदिनको त्यो भोगाईले त्यहाँका जनतालाई कति गाह्रो हुँदो हो भन्दै साथीहरूबीच विचार पोख्यौ।
राज्यका अंगहरू त्यति खेर निकम्मा लागे, प्रशासनको महारोग नै भन्नु पर्यो उजुरी बिना बजारका व्यवस्था प्रति आँखा चिम्लने। सबै समस्या भने जस्तो सजिलै हल हुन्न भन्ने कुरा यो पंक्तिकार जानकार छ तर अलिकति पनि पहल नगरी साइनबोर्ड झुन्डाएर मात्र बस्नुले कुनै अर्थ राख्दैन बरू हटाए जाती, कमसे-कम राज्यको खर्च कम होला जस्तो सम्म सोच जगाउने स्थिति देखियो। मेडिकल क्षेत्रका माफिया झै यातायातका माफिया पनि कम रहेनछन्। सबै तिर उस्तै। मुस्तांग त हिमाल पारिको जिल्ला भन्थे व्यवहार पनि त्यस्तै खेपियो निकै टाढाको झैं। अतिथि भन्दै गोरा छालाले प्राथमिकता पाउनु ठीक होला तर स्वदेशीलाई गरिने व्यवहार न्यायचीत अलि भएन, से चित्त दुखाईको पाटो रह्यो। यस्मा विदेशी अथितिको केही दोष होइन। जरूर उनीहरूलाई प्राथमिकता दिनु पर्छ तर आफूलाई समाजसेवी व्यापारि भन्ने केही ठगहरूको फेला परिएछ तसर्थ यात्रा अलि कठिन भयो। निकै कष्ठले पुगियो मुक्तिनाथ। तथापि एक व्यापारिलाई हेरेर सबैलाई एउटै मुल्यांकन गर्नु एकदम गलत भन्ने कुराको जानकार छ यो पंक्तिकार। हुन त अरूलाई यति कष्ठ केही नलाग्दो हो किनकि उनीहरू दिनहँुँ भोग्न बाध्य छन्। हामी जुन ठाँउमा हुर्कियौं, त्यो ठाँउमा त्यो अलि कम रैछ, सायद साइनबोर्ड कम्पनीहरू अलि सक्रिय हुन कि त्यस्ता जत्था केही हदसम्म डरले निष्क्रिय त्यो त केलाउन बाँकी नै छ। तर यस्मा हामी जनताको दोष होइन,यो सब भौगोलिग विकटताको कारणले झैं लाग्यो। दलका नेताहरूले सबैलाई समेट्ने भन्दै जति नै ठुला भाषण ठोके पनि दुई-चार व्यवसायीलाई ढाडस दिई यात्रु ठग्ने, घर-घर समिति भन्दै मनपरी तन्त्र मचाउनेमा सहयोग पुराउनेमा पनि दलकै ठुलै भुमिका रैछ भन्ने कुरा बुझियो।
रमाइलो पक्ष त त्यहाँका जनतालाई त बस-जिप सुविधाले खुसी छन्, तर हामी शहरको तुलनामा सेवा खोज्नेहरू दुःखी हुनु नौलो कुरा त होइन। तर त्यस यात्रा भरी मैले एउटैको हक देखे, अधिकार देखे, मनोमानी देखे, ती हुन् महान् समाजसेवी भन्न रूचाउने- व्यापारी। व्यापारी भनेका राजा रैछन् अरू त थिचो-मिचोमा परेका सोझा-सिधा जनता। एउटा सिटामोल लिन झन्डै १० -१५ किमी यात्रा तय गर्नु पर्ने अवस्था भएको देशमा व्यापारीका कुरा सुनेर, व्यापारीकै नुन देखि सुनसम्म खाएका अनि लाएका नेता, मन्त्रीले व्यापारीको पक्षमा निर्णय गराउन खोज्ने, गलतनै भएपनि आकर्षक भाषणमा सोझा-सिधा जनताबीच भ्रम फैलाउनु खोज्नु कुनै नौलो कुरा होइन। समाजसेवी व्यापारी नै व्यापारीले भरिएको मेरो देश, ती महान् समाजसेवी व्यापारीका मुखपात्र नेता र मन्त्रीगण निकै गाह्रो मानेर , आफु पुरै लुटिएको महुसस गरेरै भएपनि सम्झौता गर्न त बाध्य भयो सारा सुधारवाधी नेपालीको समर्थन भएको डा.केसीका माग। हेरौं यो सम्झौता सधै टिक्ने हो कि सरकारै ढालेर फेरी बिक्ने अनि बिकाउने खेल खेलाउने हुन् मेडिकल माफिया र नेपालका तथाकथित समाजसेवी व्यापारीहरूले त्यो त समयले देखाउला नै। जय होस्।
-संजय गेलाल